काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व कानुनमन्त्री पदम गिरीले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको हेरफेरलाई गम्भीर षड्यन्त्र भन्दै त्यसमा संलग्न व्यक्तिहरूले नैतिक आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
सिंहदरबारमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै गिरीले प्रतिनिधि सभाबाट पारित विधेयक संसदीय समितिको निर्णयभन्दा भिन्न भएकोप्रति कडा आपत्ति जनाए।
उनले भने, “निजामती विधेयकको कुलिङ पिरियड विषयमा महिनाौंसम्म समितिमा छलफल भयो। दुई वर्षको कुलिङ पिरियडमा सर्वसम्मति भयो र त्यसैका आधारमा प्रतिवेदन अघि बढाइयो। तर अन्तिम अवस्थामा विधेयक यस्तो रूपमा पारित भयो, जसमा मुख्य सचिव, सचिव र सहसचिवहरूलाई जोगाउने गरी हेरफेर गरिएको छ — यो गम्भीर षड्यन्त्र हो।”
गिरीका अनुसार यस्तो कार्यले न केवल संसदको गरिमा घटाएको छ, समितिको निर्णय प्रक्रियामाथि नै प्रश्न उठाएको छ।
“यो सिंगो संसद र समितिको विश्वसनीयता ध्वस्त पार्ने काम हो,” उनले जोड दिए, “जसले गल्ती गर्यो, उसले निर्मम कारबाहीको सामना गर्नुपर्छ। यस्ता गतिविधि स्वीकार्य हुँदैनन्।”
एमाले नेताले छानबिन नभएसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नबस्ने स्पष्ट पारे। साथै, उनले गम्भीर रूपमा यो घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी र नैतिक दुवै आधारमा जवाफदेही बनाइनुपर्ने माग गरे।
























