धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा लगातारको वर्षाका कारण झन्डै एक हजार घर डुबानमा परेका छन् । घरभित्र पानी पसेपछि जोखिममा परेका आठ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–७ स्थित बेली गाउँका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनाको उद्धार गरिएको हो । उद्धारपछि उनीहरूलाई नजिकै रहेका आफन्तको घरमा सुरक्षित राखिएको छ ।
त्यस्तै धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनालाई पनि डुबानबाट उद्धार गरी स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार निरन्तरको वर्षाका कारण उपमहानगरपालिका–१, २, ३, ४, ५, ७, ८ र १० नम्बर वडाका बासिन्दा बढी प्रभावित भएका छन् ।
प्रशासनको प्रारम्भिक तथ्यांकअनुसार करिब १,००० घरधुरीमा पानी पसेको छ। हालसम्म मानवीय क्षति नभएको जनाइएको छ ।
आइतबार साँझदेखि लगातार भइरहेको वर्षा अझै नरोकिएकाले थप जोखिम हुनसक्ने भन्दै प्रशासनले सतर्कता अपनाउँदै आवश्यक तयारी गरिरहेको जनाएको छ ।
























