काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बैंक ग्यारेन्टी बुझाएर छुटेका छन्।
बुधबार राति विशेष अदालतको इजलासले भ्रष्टाचार आरोपमा अनुसन्धानको सामना गरिरहेका नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो। त्यसपछि उनले ३५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएर बबरमहलस्थित विशेष अदालत परिसरबाट बाहिरिएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि आयुर्वेदलाई जग्गा उपलब्ध गराउने निर्णय प्रक्रियामा पूर्वप्रधानमन्त्री नेपालको संलग्नता देखाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले नेपाललाई साधारण तारेखमा छाड्न अस्वीकार गर्दै धरौटी माग गरेको हो।
अदालतले मन्त्रिपरिषद्को अध्यक्षतामा गरिएको निर्णयका आधारमा सरकारी हदबन्दी छुटको जग्गा सट्टापट्टा तथा बिक्री भएको ठहर गर्दै मुद्दा अगाडि बढाएको छ। आगामी पेशी साउन १३ गते तोकिएको छ ।

























