काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सरकारले एक वर्षमा गरेको काम र राष्ट्रिय राजनीतिका विषयमा छलफल गरेको छ। बुधबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा एमालेको आन्तरिक विषयमा पनि छलफल भएको हो ।
बैठकले सरकारको काम कारबाही सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘सरकारका बारेमा विभिन्न हल्ला चलाइयो। तर दुई पार्टीको समझदारी बलियो बन्दै गएको छ । मुलुकको अर्थतन्त्रले पनि लय समातेको छ। विरोधका स्वरहरू पनि सम्बोधन हुँदै गएका छन्।’
उपमहासचिव ज्ञवालीले गत वर्ष अरूले बनाएको बजेट र नीतिमा काम गरेकाले सोचेजस्तो काम नभएको बताए। तैपनि राम्रो गर्ने प्रयास गरेको उनले बताए।
उनले भने,‘प्रतिगमन र राजतन्त्रका नाममा विभिन्न गतिविधि भए। त्यो अहिले निस्तेज भएको छ। देशले सही दिशा लिएको छ।’
उपमहासचिव ज्ञवालीले सरकारमा एमालेको उपस्थिति प्रभावकारी बनेको बताए ।























