काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल–इरानबीचको द्वन्द्वका कारण नेपाल फर्किन चाहने ८८५ जना नेपालीले नाम दर्ता गराएको जानकारी दिएकी छिन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले संकटग्रस्त क्षेत्रबाट नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक प्रक्रिया अघि बढाइरहेको बताइन् ।
उनका अनुसार, सरकारले जुन १७ देखि अनलाइन पोर्टलमार्फत विवरण संकलन सुरु गरेको छ । “हालसम्म ८ सय ८५ जनाले फर्कन इच्छुक भन्दै आफ्नो विवरण दर्ता गरिसकेका छन्,” मन्त्री राणाले भनिन्, “अब केही दिनभित्र ‘श्रम संसार’ मोबाइल एपलाई नागरिक एपसँग समायोजन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको छ, जसबाट विश्वभर रहेका नेपाली नागरिकले सहज रूपमा विवरण दिन सक्नेछन् ।”
परराष्ट्रमन्त्री राणाले इजरायल–इरान द्वन्द्वका कारण ती मुलुकहरूमा रहेका नेपालीहरूको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारिन् । युद्ध सुरु भएदेखि नै मन्त्रालयले सुरक्षासम्बन्धी प्रेस विज्ञप्ति र एड्भाइजरी जारी गर्दै सतर्कता अपनाउन आग्रह गर्दै आएको उल्लेख गरिन् ।
उनले भनिन्, “१३ जुनदेखि प्रेस विज्ञप्ति जारी गरिएको हो भने, १५ जुनमा विशेष एड्भाइजरी जारी गरेर इजरायल र इरानमा रहेका नेपालीहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।”
त्यस्तै, युद्ध प्रभावित क्षेत्रमा कार्यरत नेपाली राजदूतहरूसँग नियमित सम्पर्कमा रहेर सुरक्षा अवस्थाबारे जानकारी लिइरहेको जानकारी दिइन् ।
मन्त्री राणाले अवैधानिक रूपमा विदेशमा काम गरिरहेका नेपालीलाई वैधानिक बनाउने कार्यका लागि छुट्टै कार्यदल गठन गरेर प्रक्रिया अघि बढाइएको पनि जानकारी दिइन् ।