काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली असारको तेस्रो साता स्पेनको भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यो जानकारी गराएकी हुन् ।
परराष्ट्रमन्त्री राणाका अनुसार प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।
नेपालले यस सम्मेलनको लागि व्यापक तयारी गरिसकेको र केही दिनअघि भएको भर्चुअल बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेको पनि राणाले जानकारी दिइन् ।
राणाका अनुसार नेपाल यस कार्यक्रमको आयोजक समिति सदस्य राष्ट्र पनि हो ।

























