काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा आज दिउँसो एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाग्रस्त विमानमा चालकदलका सदस्यसहित कुल २४२ जना सवार थिए ।
बीबीसी हिन्दीका अनुसार, ती यात्रुहरूमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ जना क्यानडेली नागरिक र ७ जना पोर्चुगलका नागरिक थिए ।
विमान दुर्घटनाका थप विवरणहरू:
- उडान: अहमदाबादबाट बेलायतको ग्याटविकका लागि उडेको एयर इन्डियाको एआई १७१ कलसाइन भएको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।
- चालकदल: विमानमा दुई पाइलट र १२ जना चालकदलका सदस्य थिए। विमानलाई क्याप्टेन सुमीत सभरवालले फर्स्ट अफिसर क्लाइभ कुन्दरसँगै उडाएका थिए।
- दुर्घटनाको क्रम: अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ। जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ खसेको थियो। जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो र धावनमार्ग छाडेको दुई मिनेट नहुँदै दुर्घटनाग्रस्त भएको थियो।
- असर: विमान दुर्घटनामा परेसँगै अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ ।
प्रधानमन्त्रीको चासो र उद्धार कार्य:
अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोनमा कुरा गरेका छन् । मन्त्रीको कार्यालयका अनुसार नायडु अहिले अहमदाबादतर्फ जाँदै छन् र उद्धार तथा राहत कार्यको निरीक्षण गर्ने इन्डिया टुडेले जनाएको छ ।
प्रधानमन्त्री मोदीले तत्काल आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् र घटनाको नियमित अपडेट माग गरेका छन् । सबै सम्बन्धित निकायहरू उच्च सतर्कतामा रहेका छन् र समन्वयका साथ उद्धार कार्य जारी छ ।