काठमाडौं । विपक्ष दलहरूले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्ष दलहरूले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आजका सबै कार्यक्रम स्थगित गरिएको घोषणा गरेका थिए।
बिहीबार निर्धारित समयभन्दा ढिला सुरू भएको बैठकमा विपक्षी दलहरूले पुरानै अडान दोहोर्याएर सदन अरुद्ध पारेका थिए। सभामुख देवराज घिमिरेले सदन सञ्चालनका लागि आग्रह गरे पनि विपक्षी दलहरू टसमस भएनन्।
सभामुख घिमिरेले नियमित सदन अवरुद्ध हुँदा काम कारबाही प्रभावित भएको र बजेटका विषयमा पनि छलफल हुन नसकेको भन्दै सांसदहरूको ध्यानाकर्षण गराए। उनले सदन अवरुद्ध हुँदा अगाडि बढाउनुपर्ने विभिन्न विधेयक पनि अगाडि बढ्न नसकेको बताए।
‘कतिपय विधेयक आन्दोलनसँग पनि सम्बन्धित छ। शिक्षा विधेयकलाई निर्धारित समयमा पास गर्नुपर्नेछ। त्यसैले नियमित बैठक सञ्चालनमा सहयोग गर्नुस्,’ सभामुख घिमिरेले आग्रह गरे। तर, सांसदहरूले हो-हल्ला कायमै राखेपछि सभामुख घिमिरेले कार्यसूची हटाएको सूचना सुनाउँदै संसद बैठक भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको राजीनामा माग्दै आएका छन्। उनीहरूले उक्त प्रकरणको संसदीय छानबिन पनि बनाउनुपर्ने माग गर्दै आएका छन्।
सत्तापक्षले भने गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताउँदै आएको छ। गृहमन्त्रीमाथि कुनै आरोप पत्र दायर नभएको भन्दै सत्तापक्षले गृहमन्त्रीले राजीनामा दिन नपर्ने तर्क गर्दै आएको छ।

























