काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ। नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुवात गर्न लागेको हो। पहिलो खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।
नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज आजदेखि सुरु हुन लागेको हो। सात महिनापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग-२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ।
नेपालले यसअघि लिग-२ अन्तर्गत २०२४ को नोभेम्बरमा अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज खेलेको थियो। नेपाल र स्कटल्यान्डबीच यसअघि भएका भिडन्तमा नेपाल बलियो देखिएको छ।
यसअघि भएका आठ एक दिवसीय खेलमा नेपालले चार जित र स्कटल्यान्डले तीन जित निकालेको छ। एक खेल भने रद्द भएको थियो। सोमबारदेखि लिग-२ खेल्नुअघि नेपालले स्कटल्यान्डको ‘ए’ टिमसँग दुई वटा अभ्यास खेल खेल्ने मौका पाएको थियो ।