काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)माथि नेपालले जित निकालेको छ। थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रनको अविजित पारी खेलिन्। उनले २८ बलमा २ चौका प्रहार गरिन्। ओपनर सम्झना खड्काले २१ रन, पूजा महतोले १३ र रुबिना क्षेत्रीले २३ रन बनाइन्। रुबी पोडार ६ रनमा अविजित रहिन्।
यूएईका लागि मिचेल बोता, सुरक्षा कोते, वैष्णबी महेश र कप्तान इशा ओझाले १–१ विकेट लिए।
त्यसअघि,ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो।
युएईका लागि ओपनिङमा आएकी कप्तान ईसा ओझाले सर्वाधिक ३९ रन बनाइन्। उनले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गरिन्। विकेट किपर ब्याटर त्रिथा सतिशले २१ रन बनाइन्। लावन्या केनीले १२, मिना होट्चाँदनीले २० रन बनाइन्। उडेनी डोना ६ रनमा अविजित रहिन्।
नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक चार विकेट लिइन्। कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन्।
अब मंगलबार हुने थाइल्यान्डसँगको खेलको नतिजाले नेपाललाई केही फरक पर्ने छैन ।