काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई पराजित गरेको छ ।
आज थाइल्यान्डको बैङ्ककस्थित टे«डथाई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल डिएसएस मेथर्डमार्फत ६ विकेटले विजयी भएको हो । जितसँगै नेपालले सुपर थ्रीको सम्भावना कायमै राखेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् ।
पुजा महतोले ११ बलमा २ चौकासहित १३ रनको योगदान दिइन् । ओपनर सम्झना खड्का ५ रनमा आउट भइन् । बहराइनका लागि पवित्रा शेट्टीले ३ विकेट लिइन् । त्यसअघि बहराइनले १२.४ ओभरमा ७६–३ को स्थितिमा रहँदा पानी परेको थियो ।
रासिका रोड्रीगोले २९ बलमा २४ रन जोड्दा बहराइनले राम्रो सुरुवात पाएको थियो । यस जितले नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक पुगेको छ । ३ खेलमा हङकङको ४ अंक छ ।
बहराइनको ३ खेलमा १ अंक छ । अब अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङ खेल्नेछन् । उक्त खेलमा हङकङ पराजित भएमात्र नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ ।