काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको प्यारापिट र फ्लडलाइट जडान कार्य असारको अन्तिमसम्ममा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा ओलीले ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र काम सक्ने घोषणा भए पनि तय समय (२४ वैशाख) बितिसकेको छ । ठेकेदार कम्पनीहरूसँग सम्झौता पुस १९ र २२ मा भएको थियो ।
छलफलमा सहभागी शहरी विकास मन्त्रालयका सचिव, संघीय सचिवालयका प्रमुख र निर्माण व्यवसायीहरूले एलसी प्रक्रिया, डिजाइन परिवर्तन, समन्वय अभाव, र वर्षाका कारण ढिलाइ भएको जनाए । अब एक महिनाभित्र प्यारापिट, र दुई महिनाभित्र सम्पूर्ण काम सक्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्यारापिटको ५५% भौतिक र ४५.१९% वित्तीय प्रगति तथा फ्लडलाइटको ३५% भौतिक र २३.८१% वित्तीय प्रगति भएको जानकारी प्रधानमन्त्रीलाई दिइएको थियो ।