काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको बारेमा नयाँदिल्लीस्थित नेपाली दूतावासले छलफल थालेको छ ।
दूतावासले शुक्रबार विज्ञिप्ति जारी गर्दै घटनाबारे उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य भारतीय निकायहरुसंग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको जनाउँदै कलेजका प्रतिनिधिहरुलाई आज बिहान दूतावासमा बोलाएर घटनाका बारेमा जानकारी लिएको बताइएको छ ।
नेपाली विद्यार्थी साह छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दूतावासलाई बिहीबार रातीमात्रै थाहा भएको विज्ञप्तिमा उल्लेख छ।
राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निश्पक्ष छानविन गर्न अनुरोध गरेका थिए ।
केआईआईटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षिया साह छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी प्राप्त हुनासाथ राजदूतावासले उक्त शैक्षिक संस्थाका प्रतिनिधिहरु, प्रहरी अधिकारीहरु, विदेश मन्त्रालयका अधिकृत लगायत अन्य सरोकारवालाहरुसँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिएको थियो ।
सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्यनरत सबै नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति गर्न जोड दिएका दूतावासले जनाएको छ ।

























