काठमाडौं । सरकार र शिक्षकबीच सिंहदरवारमा वार्ता भइरहेको छ । शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुसँग वार्ता गरिरहेका बेला गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।
वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन् ।
आजको वार्ता निर्णायक हुने नेताहरूले अपेक्षा गरिएको छ ।
वार्तामा महासंघले सहमतिका लागि ९ बुँदे प्रस्ताव पेस गरेको छ । उक्त प्रस्तावमा आज निर्णय भए आन्दोलनको स्वरूप परिवर्तन गर्ने महासंघका पदाधिकारीको भनाइ छ । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले ९ बुँदे प्रस्तावमा निर्णय भए आन्दोलनको मोडालिटी परिवर्तन गरेर कक्षा १२ को परीक्षामा सामेल हुने बताएकी छन् ।
विद्यालय शिक्षा ऐन माग राख्दै चैत २० गतेदेखि शिक्षकहरू आन्दोलित छन् । २९ दिनदेखि शिक्षकहरु सडक आन्दोलनमा रहेकाले विद्यालय भर्ना अभियान, कक्षा १२ को परीक्षा र एसईईका उत्तरपुस्तिका जाँच प्रभावित भएको छ ।
यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बुधबार साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको वैठकले शिक्षक आन्दोलनका विषयमा विभागीय मन्त्रालयले केही दिनदेखि गरेको वार्ताका विषयमा ठोस निर्णय गर्ने आंकलन गरिएको छ ।
सरकारसँग वार्ता र आन्दोलन दुवै गरिरहेको नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने र केहीमा केही माग संसदबाट टुङ्गाउनुपर्ने भएकोले पहिले मन्त्रिपरिषद्बाट टुङ्गाउनुपर्ने विषयहरु टुङ्ग्याएमा आन्दोलनको स्वरुप परिवर्तन गरेर परीक्षा सञ्चालनसहितका विषयमा सकारात्मक हुने बताउँदै आएको छ ।