काठमाडौं । आन्दोलनरत शिक्षकहरुमाथि सरकारले दमन गरेको भन्दै सांसदहरुले विरोध प्रकट गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उपलब्ध शून्य समयमा सांसदहरुले आइतबार शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरे ।
उनीहरुले सरकारले वार्तामार्फत शिक्षकहरुको जायज मागको सम्बोधन गर्न एवं भर्ना र पठनपाठन सुरु गर्ने अवस्था गर्न जोडदार माग गरे ।
सांसद प्रकाश ज्वालाले आन्दोलनरत शिक्षकहरुको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरे । “आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनको सट्टा सरकार राज्य शक्तिको दुरुपयोग गर्दै आन्दोलनकारीमाथि दमन गर्दैछ ।
आन्दोलनमाथि सरकारी दमनको भत्सना गर्दछु”, सांसद ज्वालाले भने । उनले पत्रकारको सुरक्षाको सुनिश्चित गर्न माग गर्दै चिकित्सकको आन्दोलनमा समेत ध्यानार्कषण गराए ।
सांसद डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत शिक्षकहरुमाथि दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको आरोप लगाए । “हिजो शिक्षकहरुमाथि भएको दमनमाथि रास्वपा गम्भीर ध्यानार्कषण गराउन चाहन्छ”, सांसद अर्यालले भने । उनले आगामी बजेटले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए ।
सांसद दिलेन्द्रप्रसाद बडूले सरकारलाई आन्दोलनरत पक्षहरुप्रति संवेदनशील, जिम्मेवार र संयमित बन्न सरकारसँग आग्रह गरे ।
यस्तै, सांसदहरु डिगबहादुर लिम्बू, नारायणप्रसाद आचार्य, देवप्रसाद तिमिल्सिना, नैनकला थापा, सांसद देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीले शिक्षकहरुको जायज मागप्रति एक्यबद्धता जाहेर गर्दै वार्तामार्फत समाधान खोज्नपर्नेमा जोड दिए ।
बैठकको शून्य समयमा सांसद तारा लामा तामाङले वर्षायाममा सम्भावित विपद् बाढी पहिरोका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका सरोकारवाला सबै पक्षलाई स्रोतसाधन तयारी अवस्थामा राख्न ध्यानार्कषण गराए ।
अर्का सांसद डा. तोसिमा कार्कीले चोभारको गल्छी साँघुरो बन्दै गएको र यसले ललितपुरका थुप्रै ठाउँ डुबानमा पर्ने सक्नेतर्फ सचेत गराइन् । उनले तत्काल गल्छी फराकिलो बनाउनका लागि ढुंगा निकाल्ने अवस्था सिर्जना गर्न सभामुखमार्फत सरकारको ध्यानार्कषण गराइन ।
सांसद निशा डाँगीले डिजिटल नेपालको परिकल्पना कार्यान्वयनमा जोड दिइन । सांसद दीपकबहादुर सिंहले भ्रष्टाचार न्यूनीकरणका लागि सरकारको ध्यानार्कषण गराए ।
सांसद नागिना यादव, पुष्पबहादुर शाह र प्रतिमा गौतमले नेपाली काँग्रेस सहमहामन्त्रीका छोरा चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्ने अभिव्यक्ति प्रमाणहीन भएको भन्दै आपत्ति जनाए ।
उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बिना प्रमाण र आधारहीन आरोपपूर्ण अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए ।
यस्तै, सांसद ठाकुरप्रसाद गैरेले पाल्पा जिल्लाको सिद्धेश्वरमा आइतबार राति भएको दुर्घटनामा मृतकहरुको परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरुको गराउन माग गरे । रासस