काठमाडौँ । शिक्षक र प्रहरीबीच बानेश्वरमा भएको झडपमा घाइते हुने शिक्षकको संख्या ६२ जना जना भएको शिक्षक महासंघले जनाएको छ । २५ दिनदेखि शान्तपूर्वक गर्दैै आएका शिक्षकहरुले आज निषेधित क्षेत्र तोड्न खोज्दा झडपको स्थिति आएको हो ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार घाइते शिक्षकहरुको ट्रमा सेन्टर, एभरेष्ट र सिभिल अस्पतालमा उपचार भईरहेको छ । अध्यक्ष सुवेदीले शान्तिपूर्ण आन्दोलन गरिरहेको समयमा सरकारले दमन गरेको आरोप लगाएका छन् । शान्तिपूर्ण आन्दोलन गरिरहेको समयमा घुसपैठ गराएर आन्दोलनकारीलाई उत्तेति बनाउँदै शिक्षकहरुममाथि राज्यले दमन गर्दा ६२ जना शिक्षक घाइते भएको अध्यक्ष सुवेदीले बताएका छन् । घाइते शिक्षकहरुको उपचारको जिम्मा सरकारले लिनुपर्ने उनले बताएका छन् ।
चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकहरुले माईतिघरदेखि वानेश्वरस्थित एभरेष्ट होटलसम्म शान्तपूर्ण प्रदर्शन गर्दै आएका थिए । प्रहरीले एभरेष्ट होटल अगाडि वेरियर राखेर निषेधित क्षेत्रमा प्रवेश निषेध गरेको थियो । तर शिक्षकहरुले आज निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले धरपकड गरेको थियो । शिक्षकहरू आक्रामक बनेपछि बल प्रयोग गर्न वाध्य भएको प्रहरीको दाबी छ । प्रहरीले आन्दोलनकारी शिक्षकहरुलाई तितरवितर पार्न लाठी चार्ज र पानीको फोहोरा हानेको थियो ।