काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकका समस्याहरु समाधान गर्न सरकार संविधान, ऐन र देशको बजेटको दायरा भित्र रहेको सीमा अनुसार कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट समस्याहरु समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले शिक्षकहरुलाई लचिलो भएर वार्तामा आउन आह्वान गर्दै भने, “सरकार शिक्षकहरुसँग वार्ता गर्न तयार छ र समस्याहरु संविधान, कानूनी र बजेटको दायराभित्र समाधान गर्ने प्रयास गर्नेछ।”
मन्त्री पन्तले थपे, “मैले सरकारको तर्फबाट वार्ताको आह्वान गरिसकेको छु र हामी समाधान खोज्न तयार छौँ।”
तर आजै सरकार र शिक्षक महासंघबीच हुने भनिएको वार्ता रद्द भएको छ । शिक्षामन्त्री पन्तलाई सिंहदरबार पुगेका महासंघका प्रतिनिधिहरु विशेष कारण देखाउँदै वार्ता नगरी फर्किएका छन् ।