काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेका छन् । हिजो मात्रै कार्यभार सम्हालेका शिक्षामन्त्री पन्तले आज प्रेस विज्ञप्ति जारी गर्दै संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेका हुन् ।
शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भनेर शिक्षक तथा कर्मचारीको चासो हुनु स्वभाविक भएको बताउँदै मन्त्री पन्तले निरन्तर संवाद तथा छलफलपछि सामूहिक रुपमा समाधानको उपाय खोज्न पनि वार्ता गर्नुपर्ने उल्लेख गरेका छन् ।
शिक्षामन्त्री पन्तले देशको बजेट र सीमाभित्र रहेर समाधान खोज्न आफू तयार रहेको बताउँदै शिक्षकहरुलाई लचिलो भएर वार्तामा आउन आग्रह गरेका हुन । संविधानको सीमाभित्र, ऐन कानुन र देशको बजेटले भ्याउने सीमाभित्र रहेर समाधान खोज्न आफू तयार रहेको बताएका छन् ।
सवोच्च अदालतले हिजो दिएको आदेश सबै पढेपछि मात्र के गर्ने भनेर भन्ने पनि मन्त्री पन्तले बताएका छन् । सर्वोच्च अदालतले बिहीबार तीन दिनभित्र शिक्षकलाई विद्यालयमा फर्किने वातावरण बनाउन आदेश दिएको थियो ।
चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले २३ दिनदेखि सडक आन्दोलन जारी राखेका छन् ।