काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयुबारे फैलिएका हल्लाप्रति ध्यान नदिन आग्रह गरेका छन् ।
लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजित एमालेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै ओलीले स्थायित्वका लागि कांग्रेससँग सहकार्यमा अघि बढेको बताएका छन् ।
“यो संयुक्त सरकार संकल्पसहित बनेको हो, स्थायित्वका लागि बनेको हो,” भन्दै उनले सरकार बचाउनेभन्दा चुनावतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
ओलीले पार्टीको प्रमुख लक्ष्य आगामी प्रतिनिधिसभा निर्वाचन अर्थात् ’मिशन ८४’ रहेको उल्लेख गर्दै एमालेलाई राष्ट्रिय शक्ति बनाउने चुनावका रूपमा प्रस्तुत गरे ।
युवालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत भड्काउने प्रयास भइरहेकाले सचेत रहनु पर्ने बताए । “प्राप्त उपलब्धिको रक्षा गर्दै देश निर्माणको संकल्प युवाले लिनुपर्छ,“ उनले भने ।