काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको मोर्चाबन्दीलाई कसिलो बनाउने निर्णय गरेको छ । संघीय संसदको वर्षे अधिवेशनको पूर्वसन्ध्यामा बसेको माओवादी संसदीय दलको बैठकले संसदमा विपक्षी दलहरू विषयका आधारमा एकतावद्ध भएर प्रस्तुत हुने निर्णय गरेको बताइएको छ ।
सत्तापक्षले विपक्षी दलहरुबीच फाटो ल्याउन प्रयास गर्ने आशंका गर्दै माओवादीले सरकारको कामकारबाही र बजेटका विषयमा विपक्षीहरु एक भएर प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि संसदीय गतिविधिका विषयमा विपक्षी दलहरूसँग संवाद गर्ने निर्णय पनि गरेको बताइएको छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विपक्षी दलहरूसँग छलफल गरेरै संसदीय गतिविधिहरूका विषयमा साझा धारणा बनाइने बताउँदै भनेका छन् “प्रमुख प्रतिपक्षी दलको तर्फबाट अरु प्रतिपक्षी दलहरूसँग पनि सहकार्य गर्ने, छलफल गर्ने र उहाँहरू (सत्तापक्ष)सँग पनि समस्याहरू समाधान गर्नका लागि छलफल गर्नुपर्ने हुन्छ ।”
निजामती र शिक्षा विधेयक अगाडि बढाउन समेत पहल लिने निर्णय गरेको वैठकले नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा आउनुपर्ने निर्णय पनि गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयक संसद्बाट पारित गर्नको सक्रिय हुन आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।
उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए ।
काठमाडौंमा यथास्थिति र प्रतिगमनविरुद्ध आयोजना गरिएको विशाल जनप्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उँचो बनाएको उनको भनाइ थियो।