काठमाडौं । आई.सी.सी. यू-१९ विश्वकपको एसिया छनोट आज (आइतबार) देखि काठमाडौंमा शुरु हुँदैछ ।
मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजेदेखि शुरु हुनेछ ।
आई.सि.सी. पुरुष यु–१९ विश्वकप छनोटमा घरेलु टोलीसहित पाँच राष्ट्रका कप्तानले राम्रो क्रिकेट खेल्ने आशा व्यक्त गरेका छन् । काठमाडौंमा नेपालसहित टेस्ट राष्ट्र अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र हङकङले यु–१९ विश्वकप छनोट खेल्दैछन् ।
छनोटका खेलहरू माथिल्लो मूलपानी क्रिकेट मैदान र तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन् । छनोट प्रतियोगिता अगाडि शनिबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान नरेन भट्टले लामो समयदेखि विश्वकपको तयारी गरिरहेकाले यसपल्ट पनि सुखद नतिजाको आशा गरेका छन् ।
यस छनोट प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकप खेल्नेछ ।