काठमाडौं । शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिए पनि वितरणमा समस्या देखिएको छ । वैशाख १ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
८ वटा क्षेत्रीय कार्यालय र केन्द्रबाट १४ जिल्लामा बिक्री वितरण हुने बताइएको छ । यस वर्ष कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रबाट छपाइ भएको छ भने कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ भएको छ । अघिल्लो वर्ष ३ र ५ कक्षाका पुस्तक छपाई निजी क्षेत्रलाई दिइएको थियो । केही डिलर र पुस्तक पसलमा कक्षा ३ र ५ का पुस्तक गत वर्षकै विक्री हुन बाँकी रहेकाले उनीहरुले कक्षा ६ देखि १२ कक्षासम्मका पुस्तक मात्र जनक शिक्षाबाट खरिद गर्न खोज्दा नदिएको गुनासो गरेका छन् ।
जनक शिक्षाका विक्री शाखाका मोहन नामका कर्मचारीले ३ र ५ कक्षाका पुस्तक नलगे ६ देखि १२ कक्षाका पुस्तक पनि नदिने बताएपछि व्यापारीहरु मारमा परेका छन् । उनीहरुले आफूहरुलाई आवश्यक पुस्तक मात्र लान पाउनु पर्ने माग गरेका छन् ।
जनक शिक्षाले सवै लाउनु पर्ने नत्र कुनै कक्षाको पनि पुस्तक नदिने अडान राख्नु र डिलरहरुले आफूहरुलाई आवश्यक पुस्तक मात्र लान पाउनु पर्ने नत्र कुनै पुस्तक पनि विक्री नगर्ने चेतावनी दिँदा पुस्तक प्रकाशित भएर पनि वितरणमा समस्या देखिने अवस्था आएको छ ।
यो वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य केन्द्रले लिएको जनक शिक्षाले १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ गरेको बताइएको छ । करिब २० हजार जति कक्षा ३ र ५ को किताब अघिल्लो वर्षको स्टक रहेको जनाएको छ ।
त्यस्तै, यो वर्ष कक्षा ९ को तीन वटा अतिरिक्त विषयको नयाँ पाठ्यपुस्तक छपाइ भएको बताइएको छ । जसमा अतिरिक्त गणित, अर्थशासास्त्र र कम्प्युटर साइन्स छन् ।
१ वैशाखभित्र सबै जिल्लामा पुस्तक पुर्याउने गरी केन्द्रले तालिका बनाइए पनि सबै पुस्तक लानै पार्ने वाध्यकारी नियम लाद्न खोज्दा सबै विद्यार्थीका हातमा पुस्तक पुग्न समस्या हुने देखिएको छ । यसतर्फ शिक्षा मन्त्रालयको ध्यान जान जरुरी देखिएको छ ।