बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थाइल्यान्डका राजा महा वजिरालंकर्नसँग भेटवार्ता गरेका छन् ।
थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंकक रहेका प्रधानमन्त्री ओलीले राजा वजिरालंकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन् । राजदम्पतीले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई राजदरबारमा स्वागत गरेका थिए ।
यसअघि प्रधानमन्त्री ओलीसँग समकक्षी पे थोङ् थान् शिनावात्राको सरकारी भवनमा दुईपक्षीय भेटवार्ता भई दुई देशका बीचमा ८ सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । थाइल्यान्डका प्रधानमन्त्री शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही चैत १९ गते बैंकक गएका हुन् ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक/विकास सल्लाहकार युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुन् । (रासस)