काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ्नुपर्ने बताएकी छन्।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैटौं बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वरा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै उनले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्नसक्ने एक जीवन्त क्षेत्रीय संगठनका रूपमा रहनुपर्ने जोड दिइन्।
‘अहिलेका कुनै पनि क्षेत्रीय र विश्व संस्थाहरूले आफ्ना समस्याको पहिचान गरी तिनको समाधानका लागि सामूहिक प्रयास गर्न सक्नुपर्छ। जनताका समस्या एकातिर अनि उद्देश्य र प्रयास अर्कातिर भयो भने त्यस्ता संगठनहरू जीवन्त र जनताको भरोसा बन्न सक्दैनन्,’ सम्बोधनका क्रममा उनले भनिन्।
विश्वभर खासगरी दोस्रो विश्वयुद्धपछि क्षेत्रीय कूटनीति र सहकार्यको लहर आएको र स्थानीय गतिशीलता, क्षेत्रीय पहिचान र अवसरका साथै विश्वव्यापीकरणमा अघि बढ्ने क्रममा क्षेत्रीय संगठनहरू जन्मिन पुगेका प्रसंग उनले उल्लेख गरिन्।
मन्त्री राणाले आफूले बिमस्टेकलाई एक बलियो साझेदारी मञ्चका रूपमा रूपान्तरण गर्नसक्ने आधारहरू देखेको र यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना हुनुपर्ने बताइन्।
उनले भनिन्, ‘जस्तो कि हामीले यस क्षेत्रमा सहकार्य गर्दैछौं भने सबैभन्दा पहिला त हामीले यहाँका आमा तथा बालबालिकाको रुग्ण स्वास्थ्य अवस्था, आमा तथा शिशु मृत्युको अवस्था, शासनका हरेक मोडलमा महिलाको उपस्थिति र महिला नेतृत्वको अवस्था, सामाजिक पछ्यौटेपन, जलवायु परिवर्तनले हामीलाई दिनप्रतिदिन थपिरहेको चुनौती आदिजस्ता विषयमा पहिला हेरौं र तिनको समाधानमा लागौं।’
उनले बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवर्द्धनमा बिमस्टेकको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। ‘क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले सदा स्वीकार गरेको छ। यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिबद्ध छ,’ उनले भनिन्।
उनले सदस्य राष्ट्रहरुबीचको सामूहिक सहकार्य र जनता-जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवर्द्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि बिमस्टेक राष्ट्रहरूबीच अर्थपूर्ण सहकार्य हुनुपर्ने पक्षमा नेपाल रहेको स्पष्ट पारिन्।
उनले भनिन्, ‘बिमस्टेकलाई जीवन्त तथा जनता केन्द्रित संस्था बनाउनका लागि विकास साझेदारहरू र संयुक्त राष्ट्रसंघ लगायत अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यलाई बढावा दिनुपर्छ।’
बिमस्टेक भित्रको क्षेत्रीयताको प्रमुख उत्प्रेरक भनेको यस क्षेत्रको अर्थतन्त्र, स्रोतसाधन, संस्कृति, समाज र जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउनु रहेको बताउँदै उनले प्रशस्त प्राकृतिक स्रोतसाधन र युवा जनसंख्या भए पनि बिमस्टेक त्यस रूपमा अझै अघि बढ्न नसकेको बताइन्।
बिमस्टेक फ्रेमवर्कभित्र स्वतन्त्र व्यापार क्षेत्र, कनेक्टिभिटी, बिमस्टेक गुरुयोजना, बौद्ध सर्किट, मन्दिर सर्किट, इको-टुरिजम सर्किट र अन्य पहलहरूलाई समेत समेटेर विकासका क्षेत्रमा अघि बढ्नुपर्ने पनि उनले सुझाव दिइन्।
मानव संसाधन विकास, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकतामा राखेर ठूलो जनसंख्याको आवादीका रूपमा रहेको यस क्षेत्रले युवा र गतिशील जनसंख्याबाट लाभ लिनसक्नुपर्ने र क्षेत्रीय चुनौतीको सामना गर्न हाल विकसित एआइले ल्याएको नवीन प्रविधिहरूको प्रयोग र आदानप्रदानमा सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।