काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले समाजवादी मोर्चाको जनप्रदर्शनलाई नैतिक समर्थन गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले मोर्चाको प्रदर्शन प्रतिगमनको कुप्रयासको विरुद्धमा सकारात्मक पहल भएको उल्लेख गरेका छन् ।
जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्छ भने त्यसको डटेर सामना पनि गर्न सक्छन् भन्दै उनले लेखेका छन् “प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले १५ गतेका दिन गणतन्त्रका पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल हो । राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा गर्छन् । एकअर्काको आलोचना र विरोध पनि गर्छन् । जनअभिमतवाट आफूलाई स्थापित गर्ने कोशिससमेत गर्छन्। तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्छ भने त्यसको डटेर सामना पनि गर्न सक्छन् । इतिहासले धेरै पटक प्रमाणित गरेको छ, त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो ।”