भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत फेला परेका छन् ।
मृत भेटिनेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताएका छन् ।
हाल बोडेमा बसेर कबाडीको सामान संकलन गर्ने उनको दाहिने कानको छेउ र टाउकामा समेत चोट लागेको पाइएकाले हत्या जस्तो देखिएको प्रवक्ता नेउपानेले बताएका छन् । रगत लतपतिएको ढुंगा समेत फेला परेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ ।
मृतक राईका तीन छोरा मध्ये जेठो ग्रिसमा बाँकी दुई छोरा नेपालमै रहेको प्रहरीले जनाएको छ । मृतक राईसँगै अन्य दुई जना कबाडी संकलन गर्दै आएको पाइएकाले सोधपुछका लागि उनीहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।