काठमाडौं । चन्द्रागिरि नगरपालिकामा एक व्यक्तिले मंगलबार राति आत्मदाहको प्रयास गरेका छन् । राति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा पेट्रोल छर्केर आफैं आगो लगाएपछि परिवारका सदस्य, स्थानीय र प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ ।
कीर्तिपुरको बर्न अस्पतालमा भइरहेका उनको हात र अनुहारमा जलेको भने स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ ।’
३५ वर्षीय कार्कीले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू १८ दिन प्रहरी हिरासतमा बस्नु परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुन्दा अभद्र व्यवहारमा मुद्दा खेप्नु परेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।