काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (शुक्रबार) मनाइँदै छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्लाल्पो ल्होसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङयालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको बताइन्छ । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।
शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् । यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।