काठमाडौं । रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको गत आइतबार ओडिसाको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्यु प्रकरण भारतले पहिलो पटक औपचारिक धारणा सार्वजनिक गरेको छ ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार विदेशी विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको हो । शुक्रबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशी विद्यार्थीहरूको सुरक्षालाई भारत सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
जयसवालले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई दुई देशको सम्बन्धको कडीको संज्ञा पनि दिएका छन् । जयसवालले नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणमा आवश्यक सबै कदम चाल्ने बचन पनि दिए । ओडिशाको केआईआईटी कलेजमा भएको प्रकृतिको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि गरिएको ज्यादती प्रकरणबारे पनि उनी बोलेका छन् । नेपाली विद्यार्थी प्रकृति लम्सालप्रति समवेदना प्रकट गर्दै उनले दोषीलाई कानुनी कारबाहीको बचन पनि दिए ।