काठमाडौँ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज (बिहीबार) नेपालले लेबनानसँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ ६ बजे लेबनान र नेपाल दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन् ।
यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले पराजित गरेको थियो । नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । लेबनानले आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारविरुद्ध उत्कृष्ट खेल खेलेको थियो । यद्यपि खेलमा लेबनान ३–१ गोलले पराजित भएको थियो ।
अघिल्लो खेलमा नेपालकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले दोस्रो हाफमा मात्र खेलेकी थिइन् ।
नेपालले लेबनानसँग दोस्रो पटक खेल्न लगेको हो । यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपालले २–१ गोलले जित निकालेको थियो ।
यसअघि आजै भएको पहिलो खेलमा कीर्गिस्तानलाई हराउँदै म्यानमार च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै म्यानमारले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा थप एक गोल गर्यो ।
म्यानमारले पहिलो, ३०औं, ३५औं र ४०औं मिनेटमा गोल गर्यो । दोस्रो हाफमा खेलको ४९औं मिनेटमा म्यानमारले पाँचौं गोल गर्यो । लगातार दोस्रो हार बेहोरेको कीर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।