काठमाडौं । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्सले २४औँ आहारारा पोखरा गोल्ड कपको उपाधि जितेको छ ।
शनिवार पोखरा रंगशालमा भएको खेलमा पुलिसलाई ३–१ ले हराउँदै ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औँ, असिलबेक ओरिफजोनोभले ५८औँ तथा साभकातजोन सात्तोरोधले ६६औँ मिनेटमा गोल गरे । पुलिसका शिशिर चौधरीले ७४औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
यसअघि ब्ल्याक बुल्सले क्वाटर फाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा ५ पटकको विजेता थ्री स्टारलाई ४–० ले पराजित गरेको थियो ।
उपाधि विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी जितेको छ भने उपविजेता पुलिसले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।