काठमाडौं । विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा बबरमहलमा बुधबार दिउँसो फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत बिहीबार सकिएको छ । पाइपको पानी सकिएपछि बुधबार रातिबाटै मर्मतको काम थालिएको थियो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो । अहिले पाइपमा पानी छोडेर परीक्षणको काम भइरहेको छ । परिक्षण सफल भएपछि पानी वितरण प्रक्रिया सुरु हुने बताइएको छ । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो ।
प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू अण्डरग्राउण्डको काम गरिरहेको छ । सोही क्रममा ड्रिलिङको काम गर्दा पुटेको पाइपबाट निस्किएको पानीले बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो ।