काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको हो ।
गंगामा पवित्र स्नान गर्न लाखौ मानिस जम्मा भएका बेला बुधबार राति भागदौड मच्चिँदा धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ । तर भारतीय सञ्चारमाध्यमहरूले मृत्युको संख्या फरक फरक लेखिरहेका छन् । द हिन्दुस्तान टाइम्सले कम्तीम १५ जनाको मृत्यु भएको खबर प्रकाशित गरेको छ ।
भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ ।
मृतकको संख्या फरक फरक आइरहे पनि त्यहाँको सरकारी निकायले औपचारिक जानकारी दिइसकेको छैन । यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको बताइएको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई तीन पटक सम्पर्क गरेर घटनाको जानकारी लिएको समाचारमा उल्लेख छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले संगम स्थानतर्फ जाने प्रयास नगरी गंगा किनारमा जो जहाँनेर छ, त्यहीँनेर स्नान गर्न आह्वान गर्दै प्रशासनको निर्देशन पालना गर्न र अफवाहमा ध्यान नदिन अनुरोध गरेका छन् ।
१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएकाले यो संख्या घट्ने देखिएको छ ।