दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद् दाङ र नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा आज घोराहीमा भएको अन्तर संवाद कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि बलियो निर्णायक राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताए ।
महासचिव पोखरेलले एमालेले वामपन्थी ध्रुवीकरणको मुद्दालाई प्राथमिकतामा राखेको र राष्ट्रिय शक्ति निर्माणका लागि काम गरिरहेको बताए । इतिहासबाट शिक्षा लिने र भविष्यको यात्रा तय गर्नुपर्ने भन्दै उनले कार्यकर्ताको माध्यमबाट ध्रुवीकरण गर्न एमालेको तयारी रहेको बताए ।
एक अर्को प्रशंगमा महासचिव पोखरेलले ‘बिआरआई सम्झौता’ बाट नेपालले नयाँ मान्यता स्थापित गरेको दाबी गरे । “बिआरआई सम्झौताको मस्यौदा नेपाली काँग्रेस र एमालेको सहमतिमा गरिएको हो । नेपालको इतिहासमै पहिलो पटक नेपाल आफैँले तयार पारेको सम्झौता पत्रमा हस्ताक्षर भएको छ”, उनले भने, “यसले प्रमुख पार्टी मिल्दा हरेक कुरा सम्भव हुँदो रहेछ भन्ने प्रमाणित भएको छ । मुलुकको समृद्धि र स्थायित्वका लागि गठन भएको प्रमुख पार्टी सम्मिलित यो सरकार निश्चित उद्देश्य पूरा गर्नतर्फ अग्रसर छ ।” (रासस)