काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरु र उद्योगी/व्यवसायीलाई धम्की दिएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत, काठमाडौंमा प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा बुधबार मुद्दा दर्ता भएको हो ।
राष्ट्र बैंक, व्यवसायी पवनकुमार गोल्यान र दिपेन्द्र अग्रवालले सीआईबीमा जाहेरी दिएपछि प्रहरीले फुयललाई पक्राउ गरेको थियो । फुयल पक्राउ परेपछि प्रसाईंको पनि संलग्नता खुलेको थियो । साइवर अपराधमा पक्राउ परेका प्रसाईं सर्वोच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए भने प्रतिवादीमध्ये मैनाली फरार छन् ।
भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिएको भन्दै एक व्यवसायीले सीआईवीमा उजुरी दिएका थिए ।
उनलाई ह्वाट्स एपमा समेत ‘दुर्गा प्रसाईं हिन्दुका लागि लडिरहेको भन्दै उसलाई केही भयो भने एक–एकलाई छानेर हत्या गर्ने’ भन्दै हिन्दीमा म्यासेज पठाएको भेटिएको थियो ।
पक्राउ परेका फुयलले आफूले राकेश मैनालीले भनेअनुसार अग्रवाललाई धम्की दिएको भनेका छन् ।
फुयलले प्रहरीसँग बयानमा धम्की दिने काम प्रसाईंको निर्देशनमा रामचन्द्र मैनाली, राकेश मैनाली र अन्य दुई जनाको योजनामा आफूलाई प्रयोग गरिएको बताएका छन् ।
प्रहरीले मिसिलमा दुर्गा प्रसाईंले पाँच लाख दिएकोबारे बोलेको अडियो पनि समावेश गरेको छ । ‘त्यस्तोमा जाँदैन भाइ पैसा, स्पष्ट खाता नम्बर र मान्छेको नाम चाइन्छ के, ए भाइ खै‘ चन्द्रलाई फोन गथ्र्यो । त्यो पैसा हाल्न लगाथ्यो । ५ लाख छिटो हाल भन त..’ लगायतका संवादसहितका अडियो प्रहरीले अदालतमा पेश गरेको छ । त्यो अडियो फुयलको मोबाइलबाट बरामद भएको प्रहरीले जनाएको छ ।
अडियोमा नाम लिइएका चन्द्र बी.एण्ड सी. अस्पतालका लेखा प्रमुख भएको बताइएको छ ।
‘त्यो अडियो मैले दुर्गा प्रसाईंको निर्देशनमा राकेश मैनालीले भने अनुसार धम्क्याउन र भारतीय सीम कार्डहरु उपलब्ध गराइ सहयोग गरे वापत मलाई दिने भनिएको रकमको बारेमा दुर्गा प्रसाईंसँग कुराकानी भएको हो ।’ फुयलले भनेका छन् ।
तर, दुर्गा प्रसाईंले भने ती कुनै विषयमा जानकारी नभएको भन्दै इन्कारी बयान दिएका छन् । प्रसाईंले भने गोल्यानले आफूविरुद्ध कुनै रिसिइवीले उजुरी दिएको बताएका छन् । उनले राष्ट्र बैंकका गभर्नरलाई पनि धम्क्याउन नलगाएको र कुनै समूह पनि खडा नगरेको बयान दिएका छन् ।
प्रसाईंले उनको मोवाइलमा भेटिएका म्यासेज तथा अडिओ भिडिओ बारे पनि आफूलाई जानकारी नभएको बयान दिएका छन् । उनले घटनामा आफ्नो संलग्नता पूरै अस्वीकार गरेका छन् ।
उनले अडियो जाँच गराउन पनि इन्कार गरेपछि प्रहरीले उनले एक टेलिभिजनमा दिएको अन्तर्वार्तासँग जाँच गराएको थियो । त्यसक्रममा डिजिटिल फरेन्सिक ल्याबले उक्त अडियो प्रसाईंको आवाजसँग एकापसमा मिलेको भनेर प्रतिवेदन दिएको छ ।
फुयालले टेलिफोन गरेर धम्कि दिएबापत आफूलाई ३ लाख रुपैयाँ दिने भनेको बयान छ । कसलाई के भनेर गालि गर्ने भनेर राकेश मैनालीले सिकाएको उनको बयान छ । मंसिर ७ गतेपछि उनलाई ३ लाख रुपैयाँ दिने बताएपनि प्रसाईलाई प्रहरीले त्यसअघि नै पक्राउ गरेको थियो ।
प्रहरीले मिसिलमा पेश गरेको अडिओमा फुयलले आफूलाई भारतीय गुण्डा नाइके ‘विश्नोइ ग्याँङबाट हुँ’ भन्ने गरेका थिए । नेपाल–भारत सीमा नजिकै रहेको पानीट्यांकीमा पसलसञ्चालन गरेर बसेका फुयललाई प्रसाईले भारतीय नम्बरबाट नेपालमा धम्क्याउन परिचालन गरेको प्रहरीको दावी छ । भारतमा आफूलाई नवीन प्रधानको नामबाट चिनाउने फुयलले त्यहाँको आधार कार्ड पनि बनाएका थिए ।
भारतबाट १४१ पटक फोन गरेर व्यवसायीलाई धम्की दिने फुयलविरुद्ध यसअघि पनि झापा र सुनसरीबाट मुद्दा चलेको थियो । इलाका प्रहरी कार्यालय धुलावारीबाट चलेको बैंकिङ कसुर मुद्दामा फरार उनी जिल्ला प्रहरी कार्यालय सुनसरीले अघि बढाएको ठगी मुद्दामा १ लाख ४० हजार रकम बुझाएर छुटेका थिए ।
अब अदालतमा बयान पछि फुयाल र प्रसाईंलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा राखेर भन्ने आदेश हुनेछ।