काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १८८ नाघेको छ ।
मंगलबार बिहान स्थानीय समयानुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिंग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयानुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु (गहिराइ) १० किलोमिटर रहेको छ ।
भूकम्पपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्दारको प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सिले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरूको उद्दार र उपचारका लागि सक्दो प्रयास गर्न आग्रह गरेका हुन् ।
साथै, उनले प्रभावित बासिन्दालाई उचित रूपमा पुनस्र्थापना गर्न पनि आग्रह गरे । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मंगलबार उद्दार कार्य सञ्चालन गर्न आहृवान गरेका थिए । उनले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताए ।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दुको पाँच किलोमिटर आसपासमा सातवटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने दुईवटा शहर रहेका छन् ।
भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्वीरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार टोली खटिइसकेका छन् ।
यूएस जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको समाचारहरू आएका छन् ।
यसअघि सन् २००८ मा चीनको सिचुवान प्रान्तमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ७० हजार जनाको मृत्यु भएको थियो । त्यस्तै नेपालमा २०७२ साल वैशाख १२ गते ७.६ म्याग्निच्युडको गोरखा भूकम्पमा परी करिब ९ हजारको मृत्यु भएको थियो ।