काठमाडौँ । अख्तियार विधेयकबारे राज्यव्यवस्था तथा सुशासन समितिमा सभापति रामहरि खतिवडा र नेपाली कांग्रेसका सांसद हृदयराम थानीबीच चर्काचर्की भएको छ।
राज्य व्यवस्था समितिमा अहिलेसम्म प्राप्त उजुरी र निवेदनमाथि सोमबारको बैठकमा छलफल भएको थियो । रामहरि खतिवडा पनि नेपाली कांग्रेसकै सांसद् हुन् ।
समितिमा सभापति खतिवडाले सांसद थानीलाई बोल्नका लागि समय दिएपछि थानीले समितिमा प्राप्त उजुरीहरू कसरी पार लगाउने र लामो समयदेखि थन्किएका विधेयकलाई कसरी कानुनको रूप दिने भनेर धारणा राखिरहेका थिए ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकलाई टुंगोमा पुर्याउनका लागि थानीको नेतृत्वमा उपसमिति चयन गरिएको थियो।
उक्त समितिले दुवै विधेयका सर्वसम्मतिले प्रतिवेदन तयार गरेको थियो। तर, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकको प्रतिवेदन स्वीकार गरेर समितिबाट विधेयक नै पास गरिसकेको छ भने सँगै आएको अख्तियार विधेयकलाई अगाडि बढाइएको छैन ।
सोही विषयमा थानीले बोलिरहेको बेला सभापति खतिवडाले अवरोध गरेपछि चर्काचर्की भएको हो ।
समिति सभापति खतिवडाले थानीलाई फेरि बोल्न आग्रह गरे पनि थानीले भने, ‘म पनि यो समितिको सभापति भएको मान्छे हो। त्यो कुर्सीमा बसेको मान्छे हो । यो समिति तपाईँकै रहेछ । तपाईँ नै बोल्नुस्।’