काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठक आइतबारदेखि सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
प्रतिवेदनमाथि यसअघि समूहगत छलफल हुने गरेको थियो । यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।
बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । उनीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आउँदो कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताए ।
बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत नेता सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सकाउने तयारी छ ।
यही पुस १८ गते एमाले सचिवालय बैठकबाट केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरिएको थियो । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकबाट संविधान संशोधनलगायत एजेन्डामा ठोस धारणा तय गरिने बताइएको छ । (रासस)