मोरङ । जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएकी थिइन् । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए । वनमा दाउरा काट्न गएकी लिम्बू साँझ सम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला परेकी उनले बताए ।
नमूना सामुदायिक वनमा एक दर्जन भन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताए । उनले हात्तीको त्रासका कारण यहाँका स्थानीय रातभर जाग्राम बस्न बाध्य रहेका उल्लेख गरे ।
दुई साता अघि सुन्दरहरैँचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएको बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमण बाट निधन भएको थियो । यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमण बाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी लगायत जिल्लामा जङ्गली हात्तीले मानिस माथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले मोरङमा एक वर्षमा तीन वटा जङ्गली हात्ती मृत फेला परेका उल्लेख गरे ।
जङ्गली हात्तीको बथानले झापा, मोरङ र सुनसरी लगायत जिल्लामा उपद्रो मच्चाइरहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबै भन्दा बढी झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिक जसो हात्तीको हुल देखिने गरेको स्थानीय बताउँछन् ।
हात्तीले मान्छे मार्ने देखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको छ । हात्तीको आक्रमण बाट झापा, मोरङ र सुनसरीमा मानवीय क्षति बढेको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले उल्लेख गरे । – रासस
















