काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यसम्पदनबाट सन्तुष्ट रहेको बताएको छ। बुधबार बसेको पार्टीको सचिवालय बैठकले सरकारको ५ महिनाको कार्यसम्पादनको समीक्षा गर्दै सन्तुष्टि जनाएको हो।
पार्टी उपमासचिव प्रदीप ज्ञवालीले सरकारले यस दौरानमा राम्रो काम गर्दै आएको बताए। नेपाली कांग्रेससहितको गठबन्धन सरकारले महत्त्वपूर्ण काम गरेको उनको भनाइ छ। ‘यो सरकार बनेपछि अर्थतन्त्रमा सुधार देखा परेको छ। सेयर बजार उच्च अंकमा छ। संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनिरहेको अवस्था छ। बाह्य सम्बन्ध राम्रो हुँदै गएको छ,’ ज्ञवालीले भने। यद्यपि, सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता रहेको उनले बताए।
उनले अन्तर्राष्ट्रिय सम्बन्धमा पनि सुधार आएको बताए। चीनसँग भएको सम्झौता त्यसकै उदाहरण भएको उनको भनाइ छ।
उनले बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता, राजस्व संकलनमा भएको वृद्धिले पनि सुधारको संकेत गरेको बताए। उनले दुई दलीय संयन्त्रलाई अझ प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए।
बैठकले संविधान संशोधन गर्न, संसदमा विचाराधीन रहेका विधेयकलाई अन्त्य गर्नका लागि एमाले र कांग्रेसका चार-चार जना पदाधिकारी रहनेगरी कार्यदल बनाउने निर्णय गरेको छ। उक्त कार्यदलले सरकारको काम कारबाही र विभिन्न विषयमा समान धारणा बनाउने उपमहासचिव ज्ञवालीले ताए।
त्यस्तै बैठकले सहकारी देखिएको समस्या समाधान गर्न सरकारले जारी गरेको अध्यादेशको स्वागत गरेको छ। उपमहासचिव ज्ञवालीका अनुसार अध्यादेशले अधिकार सम्पन्न प्राधिकरण बनाएर सहकारीका समस्या समाधान गर्नेछ।
‘सहकारीमा देखिएको बेथितिलाई अन्त्य गर्न सरकार निर्ममतापूर्वक अगाडि बढेको छ। सरकारले चालेका पछिल्ला कदम राजनीतिक बायसनेस नभएको घटनाक्रमले पनि पुष्टि गरेको छ,’ उनले भने। उनले अहिलेसम्म सहकारीका दस हजार पीडितले बचत फिर्ता पाएको र यसले अझ तीव्रता पाउने बताए ।