काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यसम्पादनबाट निरास बनेका छन्। आफू प्रधानमन्त्री भएको ५ महिना वितिसक्दा पनि सरकारले जनतामा आशा पैदा गर्न नसकेको भन्दै प्रधानमन्त्री निरास बनेका हुन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले मन्त्रीहरूसँग पनि उल्लेख्य र जनताका पक्षमा काम हुन नसकेको भन्दै असन्तुष्टि पोखेका छन्। अपवादबाहेक कुनै पनि मन्त्रालयले देखिनेगरी परिणाम दिन नसकेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरूको निस्क्रियता देखेर चिन्ता व्यक्त गरेका थिए। मन्त्री हेरफेरको विषय जोडतोडले उठिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कार्यशैलीलाई लिएर गरेको आलोचना अर्थपूर्ण छ।
प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेससँगको सहकार्यमा ओली संविधान संशोधनलगायतका एजेन्डासहित प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री भएपछि ओलीले सुशासनका सबालमा पनि अभिव्यक्ति दिँदै आएका छन्। उनले न आफू भ्रष्टाचार गर्छु, न अरुलाई गर्न दिन्छु भन्ने नारा नै विकसित गरेका छन्।
























