काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १, २ र ७ का प्रशासनिक भवन र नगर गौरवको आयोजना बहुउद्देश्यीय कपन ह्याण्डल मैदानको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सहज रूपमा जीवनयापन गर्नका लागि बाटाघाटा, विद्युत बिस्तार, खानेपानीलगायत बिस्तारका कार्य गरेको र सरकारको ध्यान मुलुकको विकासमा केन्द्रित रहेको बताएका हुन् ।
केही मान्छेको सानो स्वार्थमा मुलुकको व्यापक हितलाई ओझेलमा पार्न नहुने भन्दै उनले विकासका कामलाई एकताबद्ध भएर अघि बढाउन आग्रह गरे ।
उनले अहिले असभ्यताको प्रवृत्ति देखिएको र यो नेपालीपन संस्कृति नभएकाले स्वीकार गर्न नसकिने धारणा राखे ।
उनले राष्ट्रिय एकता कायम गरी देश बनाउने र मुलुकमा सुशासन कायम गर्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि पूर्वाधार बनाउने काममा तीव्रता दिइएको सरकारको योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।