काठमाडौँ । नेपालका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज बिहान आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन् ।
कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत त्यहाँका उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति थियो ।
सिग्देललाई ‘सुप्रबल जनसेवाश्री महारथी’ भनी सम्बोधन गरिएको थियो ।
भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको निमन्त्रणामा मंसिर २६ गते भारत प्रस्थान गरेका प्रधान सेनापति सिग्देल शुक्रबार स्वदेश फर्किने छन् ।
नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा छ ।
सेनापति सिग्देलले आज हिजो भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट गरेका थिए । हिजै प्रधान सेनापति सिग्देलले भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसै गरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।




















