काठमाडौँ । सभामुख देवराज घिमिरेले मानव अधिकारको रक्षाका निम्ति सदन सधैँ सहयोगी रहने बताएका छन्। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले मानव अधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्नेमा जोड दिए।
‘हाम्रो देशको मानव अधिकारको कुरा गर्दा द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको चर्चा हुने गरेको छ,’ सभामुख घिमिरेले भने, ‘तथापि, यसबिचमा हामी शान्तिपूर्ण माध्यमबाट सशस्त्र द्वन्द्वको समाधान गर्दै संघीय गणतान्त्रिक नेपाल स्थापना गर्न सफल भएका छौँ।’
विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति शृंखलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उनले उनीहरूको मानव अधिकारको सुनिश्चितताका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका कामलाई संक्रमणकालीन न्यायका सर्वमान्य सिद्धान्तअनुरूप प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनमा परिमार्जन भएको छ भने ती आयोगका पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’
उनले पछिल्लो दशकमा भएका ऐतिहासिक परिवर्तनबाट प्राप्त राजनीतिक उपलब्धिको जगमा मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमार्फत विद्यमान वर्गीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैंगिक विभेद अन्त्य गरी समतामूलक समाज निर्माण गर्न इमानदारीपूर्वक लाग्नु सबैको कर्तव्य भएको बताए । (रासस)
























