काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पि.एल.) मा आज (मंगलबार) दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स बीच खेल हुने छ ।
त्रि.वि. क्रिकेट मैदान कीर्तिपुरमा जारी एन.पि.एल.मा हाल सम्मको खेल प्रदर्शनका आधारमा सबै भन्दा बलियो जनकपुर बोल्ट्स देखिएको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमै विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जितको यात्रालाई कायमै राखेको छ ।
यसैगरी जारी एन.पि.एल.मा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीन खेलमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेल बाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोज सँग ३३ रनले हारेको थियो ।
यस्तै, चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हाल सम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्स सँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुर सँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाज सँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।
पोखरा एभेन्जर्स दुई अङ्क सहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवन सँग ८७ रनले र दोस्रो खेलमा जनकपुर सँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।
काठमाडौं गुर्खाज दुई अङ्क सहित छैटौँ स्थानमा छ । काठमाडौं पहिलो खेलमा चितवन सँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौं तेस्रो खेलमा सुदूरपश्चिम सँग ७२ रनले पराजित भएको थियो ।
विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुर सँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम सँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णाली सँग सात रनले हारेको थियो ।
लुम्बिनी लायन्स चार वटै खेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगर सँग दुई विकेटले, दोस्रो खेलमा पोखरा सँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिम सँग ४५ रनले तथा चौथो खेलमा जनकपुर सँग एक रनले पराजित भएको थियो ।
आइतबार सम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गते देखि शुरु भएको एन.पि.एल.मा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेल बाट आठ अङ्क जोडेको छ । (रासस)