काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज जारी दोस्रो खेलमा कर्णाली याक्सले बिराटनगर किङ्ग्सलाई जितका लागि एक सय ३४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन मात्रै बनाउन सक्यो । उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए ।
कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए । अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले जम्मा पाँच रन बनाए । अन्य ब्याटर पनि आजको खेलमा चल्न सकेनन् ।
बिराटनगरका लागि प्रतीश जिशीले ह्याट्रिकसहित चार विकेट लिए । उनले खेलको २०औँ ओभर मेडन राख्दै चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले दसमान दुई विकेट लिए भने अकिब इलायसले एक विकेट लिए ।
बिराटनगर अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।