काठमाडौं । स्थानीय तहअन्तर्गतको उपनिर्वाचनको मतदान आज सकिएको छ । मतदान सम्पन्न भएसँगै मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलनको काम सुरु भएको छ ।
आज मतदान भएका अधिकांश वडाको आजदेखि नै मतगणना गरिने तयारी छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर तथा वडा नम्वर ४ र वडा नम्वर १ को अध्यक्षका लागि मतदान भइरहेको छ। यस्तै, काठमाडौं महानगर वडा नम्वर १६ को वडा अध्यक्षका लागि पनि मतदान भइसकेको छ।
उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान छ । आयोगका अनुसार ३३ वडाको निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित वडा कार्यालयमा नै रहेकाले उक्त वडामा मतदान सकिए लगत्तै मतगणना सुरु हुने आयोगले जनाएको छ ।
यस्तै निर्वाचन आयोगले मतगणनाको नतिजा प्रत्येक २ घण्टाको फरकमा आयोगकै वेवसाइटमार्फत सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।
आज देशभरबाट नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो ।

























