काठमाडौं । सत्तासीन कांग्रेस र एमालेले चीनको बीआरआईसम्बन्धी (विस्तृत परियोजना) मा तत्काल हस्ताक्षर नगरी पुरानै योजनामा अनुदानका लागि आग्रह गर्ने सहमति गरेका छन। दुई दलको कार्यदलले शनिबार प्रधानमन्त्री केपी ओलीलाई ‘ब्रिफिङ’ गर्दै बीआरआई कार्यान्वयनको मोडेलमा सहमति जनाएको हो। यद्यपि, कार्यदलको सहमतिलाई सरकारले औपचारिकता दिन बाँकी छ।
चीनले प्रधानमन्त्री ओलीको भ्रमण क्रममा बीआरआईसम्बन्धी २५ पानाको विस्तृत परियोजनामा हस्ताक्षरका लागि आग्रह गरेको थियो। तर, कार्यदलले त्यस्तो सहमति गर्दा ‘अनावश्यक भय, शंका र राजनीतिक चलखेल’ हुने भन्दै तत्काल त्यसमा सहमति नजाउने निर्णय गरेको थियो।
कार्यदलका तर्फबाट कांग्रेस महामन्त्री गगन थापाले शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा ‘ब्रिफिङ’ गरेका थिए।
प्रधानमन्त्री ओली सोमबार चीन जाँदै छन्।
नेपालले सन् २०१७ मा बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। चीनले सन् २०२० देखि बीआरआई अघि बढाउन कार्यान्वयन सम्झौता गर्नुपर्ने एकतर्फी दबाब दिइरहेको थियो। दुई देशबीच लामो समयसम्म सम्झौता नहुँदा नेपालमा बीआरआईअन्तर्गत कुनै परियोजना अगाडि बढ्न सकेका छैनन्। अब भने सरकारले एउटा साझा धारणा बनाएर चीनलाई प्रस्ताव लैजाने तय गरेको छ।