काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट आज (शनिबार) काठमाडौंमा सुरु हुँदै छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपिएलको भव्य शुभारम्भ हुनेछ । देशभित्र मात्र नभएर विदेशमा समेत धेरैको ध्यान तानिरहेको नेपाली क्रिकेटको महाकुम्भ मेलाको पहिलो खेल दिउँसो साढे १२ बजेबाट हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । जसमा विराटनगर किङ्स र जनकपुर बोल्ट भिड्नेछन् । खेलभन्दा अगाडि क्यानले औपचारिक समारोहको आयोजना गरेको छ । उद्घाटन खेलका लागि १० हजार टिकट बिक्री भइसकेको छ । क्यानले उद्घाटन खेलका लागि भिआइपीतर्फ ६ सय र साधारणतर्फ नौ हजार दुई सय टिकट बिक्री गरिसकेको छ ।
एनपिएलमा विभिन्न ठाउँको प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि दाबेदारी पेस गर्नेछन् । घरेलु मैदानमा मात्र नभई अन्तर्राष्ट्रिय मैदानमा पनि तहल्का मच्चाउन सफल नेपाली खेलाडीसँगै विदेशी खेलाडीलाई अनुबन्ध गरेर टोलीहरू बलियो देखिने होडमा छन् । क्यानले आयोजना गरेको पहिलो संस्करणको एनपिएल सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिता छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति धेरैको चासो बढेको छ ।