काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई प्रमाणित गरेर देउखाउन चुनौती दिएका छन् ।
दरबारमार्गमा आज आयोजित जागरणसभामा बोल्दै महासचिव पोखरेलले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने उद्घोषण गरे ।
अध्यक्ष ओलीको कम्बोडियामा लगानी गरेको भन्ने आरोपको खण्डन गर्दै महासचिव पोखरेलले एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने दावी गरेका छन् ।
दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजात सार्वजनिक गरेपछि प्रसाईं प्रहरी नियन्त्रणमा छन् ।
महासचिव पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका सबै काण्डहरुको छानबिन गर्न तयार रहेको बताएका छन् ।
महासचिव पोखरेलले यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको उनले दाबी गरेका छन् ।
महासचिव पोखरेलले भने ‘कम्बोडियाको टेलिकममा केपी शर्मा ओलीको लगानी भनेर स्याल हुँइयाँ मच्चाउने प्रयत्न भइरहेको छ, एउटा देशको टेलिकम कम्पनीमा कसको लगानी छ भन्ने कुरा अपारदर्शी हुनसक्दछ ? तर, नेपाली समाजमा केही व्यक्ति छन्, जसले जे कुरालाई पनि सड्यन्त्रको ढाँचाबाट प्रस्तुत गर्दछन्।’